The Art Of Communicating
Book Summary
पुस्तक ः दी आर्ट अफ कम्युनिकेटिङ (सञ्चारका कला)
लेखक ः थिक, नाट हान
अन्य पुस्तक ः ‘पिस इज एभ्री स्टेप’, ‘नो डेथ, नो फियर’, ‘लिभिङ बुद्ध, लिभिङ क्राइस्ट’, फ्राग्रान्ट पाम लिभ्स’, ‘बिइङ पिस’, ‘फर अ फ्युचर टु बी पसिबल’, ‘द हर्ट अफ बुद्धज टिचिङ’, ‘द हार्ट अफ अन्डरस्ट्यान्डिङ’, ‘द लङ टर्न टु ज्वाय’, ‘लभ इन याक्सन’, ‘द माइ¥याकल अफ माइन्डफुलनेस’, ‘ओल्ड पाथ, ह्वाइट क्लाउड्स’, ‘याङ्गर’, ‘ट्रु लभ’, ‘आर्ट अफ पावर’, ‘सेभर’, ‘पिस इज एभ्री ब्रेथ’, ‘द नोभिस’, ‘फियर’
प्रकाशन ः हार्परवन
पृष्ठ ः १७६
प्रतिलिपि अधिकार ः २०१३, युनिफाइड बुद्धिस्ट चर्च
भियतनामी बौद्ध जेन गुरु, कवि, अध्येता तथा शान्ति कार्यकर्ता थिक नाट हान आफ्ना ध्यान केन्द्र पाम भिलेजमा बस्नुहुन्छ । अन्य पुस्तक सहित ‘दी आर्ट अफ कम्युनिकेटिङ’ (सञ्चारको कला) सचेत स्वासप्रस्वासका माध्यमबाट सञ्चार सिकाउने गरी तयार गरिएको छ । यस पुस्तकमा नौ परिच्छेद छन् ।
पहिलो परिच्छेद – ‘अत्यावश्यक खाना’ मा उहाँले सञ्चारलाई खानाको एक भागको रूपमा हेर्नुभएको छ । उहाँ भन्नुहुन्छ ः पौष्टिकता मुखबाट मात्र लिइँदैन, आँखा, कान, नाक, जिब्रो तथा शरीरबाट पनि उपभोग गरिन्छ । जब हामी केही भन्छौँ त्यसले हामी र हाम्रा वरपर रहेकालाई पोषण गर्छ र माथि उठाउँछ, हामी मायाँ र करुणा खुवाइरहेका हुन्छौँ । जब हामी तनाव र क्रोध दिने गरी बोल्छौँ र काम गर्छौं, हामी हिंसा र पीडा खुवाइरहेका हुन्छौँ । उहाँले उपभोग गर्दा पनि सचेतना साथ गर्न सल्लाह दिनुभएको छ । सचेत हुन अनुमान गर्न छोड्नुपर्छ र स्वासप्रस्वास तथा शरीरप्रति चेतानामा फर्कनुपर्छ । यसले तपाईंको ध्यान आफू र आफू वरपर भएका कुराप्रति फर्काउँछ ।
दोस्रो परिच्छेद – ‘आफैँसँग सञ्चार’ मा गुरु हानले एक्लोपना हाम्रो समयको पीडा हो र हामी अरुबाट घेरिए पनि निकै एक्लो अनुभव गर्नसक्छौँ भनी दाबी गर्नुभएको छ । हामीभित्र रित्तोपना छ । यसले हामीलाई असजिलो बनाउँछ र हामी अन्य व्यक्तिसँग जोडिएर यसलाई भर्न प्रयास गर्छौं । जोडिन सकियो भने एक्लोपनाको अनुभव हराउँछ भनी हामी विश्वास गर्छौं । प्रविधिले हामीलाई जोडिन अनेकौँ उपकरण दिएको छ । हामी जोडिए पनि निरन्तर एक्लो अनुभव गर्छौं ।
उहाँ भन्नुहुन्छ ः रोकिएर आफैँसँग सञ्चार गर्नु क्रान्तिकारी कार्य हो । हामीले जे कुरा गरिरहे पनि रोकिएर, बसेर आफूसँग जोडिएर यो काम आरम्भ गर्छौं । हामीले केबल बस्नुपर्छ र सास लिनु र फ्याक्नुपर्छ । यसका केही समयमै हामी आफैँसँग जोडिन्छौँ । हाम्रा शरीर, अनुभव, भावना र धारणामा के भइरहेछ भनी हामी थाहा पाउँछौँ । तपाईंलाई कसरी स्वासप्रस्वास गर्ने भन्ने थाहा भएपछि तपाईं सचेत रूपमा कसरी हिँड्ने, बस्ने, खाने र काम गर्ने भन्ने सिक्नुहुन्छ र तपाईं आफैँलाई चिन्न थाल्नुहुन्छ । सास फाल्दा तपाईं तनाव फाल्नुहुन्छ ।
सचेत स्वासप्रस्वास आफ्नो स्वासप्रस्वासप्रति ध्यान दिने र नबोलिकनै ‘साल लिँदा, मलाई थाहा छ म सास लिइरहेको छु, सास छोड्दा मलाईं थाहा छ म सास छोडिरहेको छु’ भनी आफैँलाई सम्झाउने सञ्चारको माध्यम हो । हामी भन्न सक्छौँ ः सास मेरो शरीर भित्र प्रवेश गरिरहेको छ । सास मेरो शरीरबाट बाहिर गइरहेको छ । सास लिने र छोडने कार्य स्वतन्त्रताको अभ्यास हो । जब हामी स्वासप्रस्वासमा ध्यान ध्यान केन्द्रित गर्छौं हामी सबै कुरा छोड्छौँ र त्यसमा चिन्ता वा भविष्यप्रतिको त्रास र खेद वा विगतप्रति दुःख पनि पर्छन् ।
तर आफैँसँग सञ्चार गर्न हामीले नसोच्ने तथा नबोल्ने अभ्यास गर्नुपर्छ । सचेतपनाले भित्रको पीडा, दुःख तथा त्रास सुन्न दिन्छ । शान्त भएर नसोच्ने र नबोल्ने अवस्थाले हामीलाई वास्तवमै आफैँलाई सुन्ने स्थान दिन्छ । हामी घर फर्कन्छौँ र सुन्छौँ । जब तपाईं बस्नुहुन्छ र सचेतनापूर्वक स्वासप्रस्वास गर्नुहुन्छ तपाईंको मस्तिष्क र शरीर एकापसमा सञ्चार गर्न थाल्छन् । स्वास लिँदा म मेरो शरीरप्रति सचेत हुन्छु । सास छोड्दा म मेरा शरीरका सबै तनाव छोडिदिन्छु । सचेत हिँडाइ शरीर र मस्तिष्कलाई एक ठाउँमा ल्याउने अनौठो तरिका हो । यसले तपाईंभन्दा बाहिर पोषण दिने र निको पार्ने कुरा पृथ्वीसँग सञ्चार गर्ने अवसर दिन्छ ।
हामीलाई थाहा छ हामीभित्रका पीडामा हाम्रा पिता, माता तथा हाम्रा पूर्वजका पीडा पनि रहेका हुन्छन् । हामीले पीडा बुझ्न सक्यौँ र त्यसलाई परिवर्तन गर्न सक्यौँ भने हामी हाम्रा मातापिता तथा पूर्वजलाई निको पार्ने काम गरिरहेका हुन्छौँ । हाम्रा पिडाले विश्वकै पीडालाई प्रतिविम्बित गर्छ । भेदभाव, शोषण, गरिबी तथा त्रासले हाम्रा वरिवर धेरै पीडा दिएका हुन्छन् । हाम्रा पीडाले अरुका पीडा पनि प्रतिविम्बित गर्छ । पीडा बुझ्दा सँधै करुणा आउँछ ।
तेस्रो परिच्छेद – ‘अरुसँग सञ्चारको साँचो’ मा गुरु हान भन्नुहुन्छ ः हामी जब कुनै व्यक्तिलाई उसको पीडा कम गर्ने चाहनाले सुन्छौँ तब त्यो गहिरो सुनाइ हुन्छ । जब हामी करुणापूर्वक सन्छौँ अनुमानमा रहँदैनौँ । मायाँको जग भनेको बुझाइ हो र त्यसको अर्थ पहिला त पीडा बुझ्नु हो । कुराइले गम्भीर नतिजा दिन्छ । मानिसले आफैँलाई एक्लो बनाउनसक्छन्, उनीहरूले एकाएक भित्रता वा सम्बन्ध तोड्नसक्छन् र उनीहरूले आत्महत्या पनि गर्नसक्छन् ।
हामी कुनै व्यक्तिसँग पाँच, दस वा बीस बर्ष सँगै बस्नसक्छौँ । तर तपाईंले त्यो व्यक्तिलाई बुझ्न गहिरो रूपमा नहेरेको हुनसक्छ । तपाईं सम्पूर्ण जीवन आफैँसँग बाँच्नु भएको छ तर हामी आफैँलाई आफ्नै बारेमा केही पनि थाहा नहुनसक्छ । जब तपाईं बोल्नु हुन्छ तब तपाईं अरुलाई आफ्ना र उनीहरूका पीडाको सत्य बताउन प्रयास गर्नहुन्छ । यो मायाँ गर्ने बोलाइ हो ।
बोधिसत्व भनेको एउटा ज्ञानोदय हो जसले आफ्नो जीवन सबै प्राणीका पीडा कम गर्न समर्पण गरेको छ । ज्ञानोदय सँधै कुनै कुराको ज्ञानोदय हुन्छ । यदि तपाईं आफ्नो पीडाको प्रकृति र जरा बुझ्न थाल्नुहुन्छ भने यो एक प्रकारको ज्ञानोदय हो र यसले तपाईंको पीडा कम गर्न सघाउँछ । तपाईंले बोद्धिसत्वका मार्ग पालना गर्नुपर्छ ः (१) सत्य बोल्नुहोस्, (२) बढाइचडाइ नगर्नुहोस्, (३) समान रहनुहोस् र (४) शान्तिपूर्ण भाषा प्रयोग गर्नुहोस् । यसका चार सर्त छन् ः (१) हामीले दुनियाँको भाषा बोल्नुपर्छ, (२) हामी भिन्न व्यक्तिसँग उनीहरूका सोचाइ र सिकाइलाई लिने उनीहरूको क्षमता प्रतिविम्बित गर्ने तरिकाले भिन्न प्रकारले बोल्नसक्छौँ, (३) व्यक्ति, समय तथा स्थानका आधारमा चिकित्सकले सही औषधि दिए झै हामी सही शिक्षा दिन्छौँ र (४) वास्तवविक सत्य प्रतिविम्बित गर्ने गरी हामी सिकाउँछौँ ।
परिच्छेद चारमा गुरु हानले मायाँयुक्त बोलाईका छ मत्र दिनुभएको छ ः (१) म यहाँ तपाईंका लागि छु । (२) मलाईं तपाईं त्यहाँ हुनुहुन्छ भन्ने थाहा छ र म निकै खुसी छु । (३) तपाईं पीडित हुनुहुन्छ भन्ने मलाई थाहा छ र म यहाँ तपाईंका लागि छु । (४) म पीडित छु, कृपया मद्दत गरिदिनुहोस् । (५) यो खुसीको समय हो । (६) तपाईं आंशिक रूपमा सही हुनुहुन्छ ।
परिच्छेद पाँच – ‘जब कठिनाइ आउँछन्’ मा उहाँले भन्नु भएको छ ः तपाईंका आमाबाबुका पीडा उनीहरूका आमाबाबुबाट आएका हुन् र तीभन्दा अगाडिका पूर्खाबाट उनीहरूमा आएका हुन् । तपाईंले आफ्नै पीडा नबुझ्दासम्म र आफैँलाई समायोजन नगरेसम्म ती भविष्यमा पुस्तामा हस्तान्तरण हुँदै जान्छन् ।
छैटौँ परिच्ेद – ‘काममा सचेतनापूर्वक सञ्चार’ मा गुरु हानले एउटा कविता लेख्नुभएको छ ः मेरा शब्दले आपसी समझदारी र मायाँ सिर्जना गर्न सकून । उनीहरू मणिजस्तै सुन्दर र फूल जस्तै मायालु हुनसकून् ।
सातौँ परिच्देद – ‘विश्वमा सञ्चार सिर्जना’ मा उहाँले भन्नुभएको छ ः हामीले ऊर्जालाई एकसाथ ल्याउँदा त्यो हजारौँ गुणामा वृद्धि हुन्छ । समुदायको ऊर्जा नभएसम्म प्रणालीगत परिवर्तन गर्न सकिन्न । शान्त भएर बस्नु आफ्नै पीडा सुन्ने र विश्वका पीडा सुन्ने अभ्यास हुनसक्छ । उहाँले चरा र माछा जस्ता समाजिक जनावरको व्यवहारमा वैज्ञानिक अध्ययनका उदाहरण दिनुभएको छ र सबै समुदायमा परोपकारिताको तत्व हुन्छ भन्नुभएको छ । समुदायका केही सदस्य समुदायका लागि आफ्नो जीवन बलिदान दिन वा मर्न तयार हुन्छन् ।
आठौँ परिच्छेद – ‘हाम्रा सञ्चार हाम्रा निरन्तरता हुन्’ मा उहाँले भन्नुभएको छ ः हाम्रा सञ्चार हामीले पृथ्वीमा छोड्ने र हामीले छोडे पनि रहने कुरा हुन । यसरी हाम्रो सञ्चार हाम्रा कर्म हुन् । हाम्रा विचार, बोलाइ र शरीरका कार्यको तेहरो कार्य कर्म हो । हाम्रा शरीर नरहे पनि हाम्रा सञ्चार हराउँदैनन् । हाम्रा सोचाइ, बोलाइ र शारीरिक कार्यका प्रभाव ब्रह्माण्डमा तरङ्गित भइरहन्छ ।
परिच्छेद नौ – ‘करुणपूर्वक सञ्चारका अभ्यास’ मा उहाँले चियाँ पिउँदा, आफैँभित्रका बालपनालाई सुन्दा, प्रेमपत्र लेख्दा, शान्ति सम्झौता गराउँदा वा शान्तिका टिप्पणी लेख्दाका उदाहरण दिनुभएको छ । उहाँले सचेतनापूर्वक अङ्कमालयुक्त ध्यानका अभ्यास गर्न पनि सल्लाह दिनुभएको छ ।