भरतपुर विमानस्थलको सफलतापछि उनी अब त्रिभुवन विमानस्थलमा हात हाल्ने बाटो खोजिरहेका थिए । यसका लागि उनलाई कसैको बलियो ब्याकसपोर्ट आवश्यक थियो । उनले एनआरएनएका उपाध्यक्ष भवन भट्टलाई सम्झिए, जसले नेपालमा पर्यटन प्रवद्र्धनको उद्देश्यले अतिथि देवो भवः नामक अभियान सञ्चालन गरिरहेका थिए । यो अभियानको एउटा प्रमुख पाटो भनेको सरसफाइ नै थियो ।

 

शर्माले एक दिन अष्ट्रेलियाबाटै भट्टलाई फोन गरे । भरतपुर विमानस्थलको डकुमेन्ट्री यूट्यूबमा हेर्न उनलाई आग्रह गरे र त्रिभुवन विमानस्थलको सरसफाइका लागि सहकार्य प्रस्ताव राखे । गाडी चलाइरहेका भट्टले तत्कालै गाडी साइड लगाएर डकुमेन्ट्री हेरे ।

 

शर्माको कामबाट प्रभावित भए । उनको अभियानका लागि पनि विमानस्थलको सरसफाई महत्वपूर्ण थियो किनभने नेपाल आउने विदेशी पर्यटकहरुको प्रवेशद्वार भनेको विमानस्थल नै हो ।

शर्माको कम्पनीमार्फत एक महिना विमानस्थल सफाई गर्ने योजना फोनबाटै तयार भयो । त्यसपछि शर्माले प्रपोजल बनाए, जसलाई भट्टले नेपालका उच्च अधिकारीहरुसमक्ष पु¥याए । यसक्रममा पर्यटन बोर्डका सीईओ दिपकराज जोशी र तत्कालिन पर्यटनमन्त्री दिलनाथ गिरीबाट ठूलो साथ पाएको शर्मा बताउँछन् ।

 

मन्त्रीले सो प्रपोजल स्वीकृत गरेपछि एनआरएनए उपाध्यक्ष तथा नेपाल पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष रहेका भट्ट र त्रिभुवन अन्तर्राष्टिय विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायले एमओयूमा हस्ताक्षर गरे । सोही सहमति बमोजिम गत १५ असारबाट शर्माले आफ्नो काम प्रारम्भ गरे । आफूले विमानस्थलमा कार्यरत ३० जना कामदारलाई तालिम दिएर सरसफाइमा लगाएको शर्मा बताउँछन् ।

 

 

‘मैले आफ्ना कामदार लगेको होइन, त्यहीँका कामदारलाई सीप सिकाएको हुँ,’ उनले भने ।

एयरपोर्टमा सरसफाइका काम त पहिले पनि हुन्थे । तर, शर्माले के फरक अभ्यास गरे यो परिवर्तन ल्याए त?

उनी भन्छन्, ‘सबैभन्दा पहिले मैले सरसफाइ गर्ने कामदारहरुमा आफ्नो कामप्रतिको हिन भावना हटाउने र आत्मसम्मान जगाउने काम गरेँ ।’

 

उनी कामदारहरुलाई अह्रनखटन गर्ने काम मात्रै गरेनन् । आफैं घुँडा धसेर सरसफाइमा जुटे । ‘ठूला मान्छे’ ले यसरी काम गरेको देखेपछि मजदुरहरुको आत्मबल बढ्ने नै भयो ।

त्यसैगरी सरसफाइमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि र गुणस्तरीय रसायन प्रयोग गरेकाले पनि फरक नतिजा आएको शर्मा बताउँछन् ।

 

तेस्रो कारण हो काम गर्ने समय । पहिले बिहान ६ बजेदेखि राति १० बजेसम्म सरसफाइको काम हुन्थ्यो । त्यो समयमा धेरै भिडभाड हुने भएकाले कामदारहरुले झारा टार्ने हिसाबले मात्र सरसफाइ गर्थे । तर, शर्माले राति ११ बजेदेखि बिहान ५ बजेसम्म काम गर्ने सेड्यूल बनाए । यो अवधिमा आधा घन्टा खाजा खाने ब्रेक बाहेक कामदारहरु ननस्टप खटिन्थे । ‘राति ढुक्कसँग काम गर्न पाइन्छ र नतिजा पनि राम्रो आउँछ,’ शर्माले भने, ‘दिनमा त फोहोर टिपटाप गर्ने मात्र हो ।’

 

 

शर्माका अनुसार बिमानस्थलको सरसफाइमा सिलिङको कबवेवदेखि हाइ डस्टिङ, स्टिनलेस पोलिस गर्नेदेखि सामानहरुको प्रिजेन्टेसन कसरी राम्रो बनाउन सकिन्छ भन्ने लगायत पर्छन् ।

‘हामीले नयाँ सामान केही पनि थपेका होइनौं,’ शर्मा थप्छन्, ‘भएका सामानलाई नयाँ जस्तो बनाइदिएका मात्र हौं । तिनीहरुको रखाईलाई मिलाएका मात्र हौं ।’

शर्माका अनुसार प्रत्येक रात वाथरुमलाई केमिकल र सावुन पानीले धुने गरिन्थ्यो । फ्लोरमा मोब गरिन्थ्यो । झ्यालका सिसाहरुमा स्क्वीजिङ गरिन्थ्यो । कार्पेट एरियामा भ्याकुम लगाइन्थ्यो । प्रत्येक स्टेनलेसको छुट्टै पोलिस गरिन्थ्यो । टेबुल कुर्सीहरुलाई सिधा मिलाइन्थ्यो । शर्मा आफैं रातभर बसेर कामको अनुगमन गर्थे । बिहान होटलमा आएर सुत्थे ।

शर्माको एक महिने सफाइ अभियान सोमबार समाप्त भएको छ । यस क्रममा लागेको सम्पूर्ण व्ययभार एनआरएनए र नेपाल पर्यटन बोर्डले व्यहोरेको शर्माले जानकारी दिए ।

 

अब के होला?

‘तपाईंहरु हिँडेपछि विमानस्थल पुरानै अवस्थामा फर्किने त होला नि?’ हामीले सोध्यौं । शर्माले त्यस्तो नहुने विश्वास व्यक्त गरे ।

‘हामी एक महिना सफा गरेर मात्र हिँडेका होइनौं’ उनले भने, ‘आफूले जानेको प्रविधि सिकाएका छौं र सरसामान हस्तान्तरण गरेका छौं । अब हाम्रो अनुपस्थितिमा पनि यहाँका कामदारहरु पूर्ववत ढंगले सरसफाई गर्न सक्षम छन् । यो सिप हस्तान्तरणको व्यवाहारिक प्रयोग हो । अब विमानस्थल फेरि फोहोरी बन्नुहुँदैन ।’

यद्यपि आगामी दिनहरुमा बिमानस्थलको सरसफाईलाई मिडियाले पनि निरन्तर फलोअप गर्नुपर्ने उनको सुझाव छ ।

बिमानस्थलको सफाइले सकारात्मक प्रतिक्रिया पाएपछि शर्मा पनि निकै हौसिएका छन् । उनले भने, ‘मैले विमानस्थलमा पुर्‍याएको सानो योगदानबाट ठूलो रेस्पोन्स पाएँ । यसले मलाई भविश्यमा अरु कामहरु गर्न प्रेरणा मिलेको छ । तर, अहिले नै कुनै योजना बनाइसकेको छैन ।’

‘बिमानस्थलपछि नेपालमा तपाईंका भावी योजना के छन्?’ कुराकानीको अन्त्यमा हामीले सोध्यौं ।

उनले अहिलेसम्म कुनै योजना नबनाइसकेको बताए ।