त्रिभुवन विमानस्थल, पशुपतिनाथ, टुरिजम् बोर्डलगायत क्षेत्रको सरसफाई गरेर चर्चामा आएका खेम्स क्लिनिङ्स सर्भिसका अध्यक्ष खेम शर्मा मूलतः अष्ट्रेलियामा बस्छन् । उनको नेपाल आउजाउ बाक्लै हुन्छ । प्रस्तुत छ, नेपाल आएको मौका पारेर उनीसँग गरिएको कुराकानीको सारः 

विभिन्न क्षेत्रको सरसफाइ गर्नुभयो, यस्ता सफाई गर्ने प्रेरणा केबाट प्राप्त भयो?

 मलाई यो देशको आवश्यकताले प्रेरित गरेको हो । मेरो देश फोहोर छ । यसकारण सफा गर्नुपर्छ भन्ने लाग्यो । फोहोर पनि धेरै नै छ । अष्ट्रेलियामा पनि म सफाइकै कम्पनी चलाउँछु । अष्ट्रेलिया सफा गरिरहँदा मलाई मेरो आफ्नै देश पनि फोहोर छ भन्ने लागि रहन्थ्यो । त्यो कुराले म कति दिन त सुत्न पनि सकिनँ । त्यो कुराले मलाई देश पनि सफा गर्नुपर्छ लाग्यो ।

तपाईले सफाइको काम कसरी सुरु गर्नुभयो?

 हो, म २००८ मा सफाइ मजदुरका रुपमा काम सुरु गरे । अहिले पनि म सफाइमै काम गर्छु । त्यसको केही समयपछि हामी केही साथीहरु मिलेर सफाइ गर्ने कम्पनी खोल्यौं । म विदेशमा सफा गर्दा मेरो देशका बाबुआमा फोहोरमा बस्ने जस्तो पनि भयो । त्यो कुराले बढी तान्यो ।

तपाई विदेश जानुभयो, फर्केर नेपाल आउनु पनि भएको छ, नेपाल– अष्ट्रेलिया गरिरहँदा के पाउनु भएको छ फरकपन ?

अष्ट्रेलिया हेरेर त हामी नेपालको कुरा गर्न सक्दैनौं । किनभने अष्ट्रेलिया समृद्ध र विकसित मुलुक हो । विकास भनेको एकै पटक हुने कुरा होइन । विकासको शिखर चुम्नका लागि गरिने यात्राको सुरुवात पहिलो सानो पाइलाबाटै हुन्छ । यसकारण विकास चरणवद्ध रुपमै हुन्छ । तर विकासले जसरी गति लिनु पर्ने थियो, त्यसरी गति लिएन भन्ने कुरा चिन्ताको विषय हो हाम्रो मुलुकको सवालमा ।

अहिले नेपालको कहाँ कहाँ सरसफाई गर्दै हुनुहुन्छ?

 हामीले पहिले त्रिभूवन विमानस्थल नै सफा गर्यौं । त्यसपछि पशुपतिनाथ, नेपाल टुरिजम बोर्ड पनि सफा गर्यौं । पशुपतिमा भने हाम्रो काम जारी छ । आउँदो शिवरात्रिसम्ममा पशुपतिको सबै क्षेत्र सफा बनाउने हामीले लक्ष्य लिएका छौं । कम्तिमा शिवरात्रिसम्ममा पशुपति परिसर सबै तिर खाली खुट्टाले हिँड्न सकियोस् भन्ने चाहना राखेका छौं ।

तपाईहरुले एक पटक सफा गर्नुभयो, फेरि फोहोर भयो, त्यसलाई पुनः सफा गर्दा कति गाह्रो हुने रहेछ?

विशेषत पशुपतिनाथमा केही परम्परा र संस्कृतिका कुरा छन् । हामीले सफा गर्यौं । पुन सफा भयो । फोहोर हुन्छ र सधै नै हुन्छ । यसैलाई सफा गर्ने हो । सफा हुन्छ, फेरि फोहोर हुन्छ र त्यसै गरी फेरि सफा गर्नुपर्छ । यहि हो नियम ।

अष्ट्रेलियामा किन सफा हुन्छ, नेपालमा किन सजिलै यो काम हुँदैन? तपाईले बुझेको के हो?

 पहिलो कुरा त सफाइको महत्व कुन ठाउँका मानिसले कति बुझ्छन् भन्ने कुरा हो । विदेशको कुरा गर्दा यदि कुनै नयाँ भवन बन्दै छ भने सफाइको युनिट कता राख्ने भन्ने पहिले नै एक इन्जिनियरले तयार पार्छ । भवन तयार भएपछि पनि सफाइको युनिट तयार पारिएको हुन्छ । हाम्रोमा भवनहरु अग्ला बन्छन्, सफा गर्ने संरचना र प्रणाली राम्रो बनाइदैन । बनाए पनि पालना गरिदैन । हामी फोहोर गर्छौं, त्यसपछि तुरुन्तै सफा गर्नुपर्छ भन्ने चेतना अहिले पनि नेपालमा फैलिसकेको छैन । सफाइमा मानिसहरु सचेत भइसकेका छैनन् । खुला दिशामुक्त क्षेत्रको अवधारणा सरकारले ल्याएको छ जुन अत्यन्त राम्रो कुरा हो । तर ठूला भवनमा भएका शौचालयको मर्मत हुन सकेको छैन । त्यसमाथि अष्ट्रेलियामा चाहिँ हरेक सार्वजनिक क्षेत्रहरुको सफाइको मापदण्ड छ । त्यही मापदण्डमा आधारित भएर निरीक्षकहरुले निरीक्षण गर्छन् । नेपालमा त्यस्तो छैन । नेपालमा सफा हुनुपर्छ भनेर लेखिएको छ । तर कुनै मापदण्ड छैन । हालै खानेपानी तथा सरसफाई मन्त्रालयले टिप्पणी उठाएर सफाइको मापदण्डसम्बन्धी कानुन बनाउने तयारी गरेको छ । पहिले नै त्यस्तो कुनै भएको भए यसो गरिरहन पर्दैन थियो होला । नेपालमा पनि मापदण्ड बनाउने, जिल्ला जिल्लामा निरीक्षक पठाउने हो भने अवस्था सुध्रिने थियो ।

नेपाल सफा गर्न कति गाह्रो छ?

 नेपाल हामी सबैको हो । हामी नेपालीहरु आफैले सफा गर्ने हो । हामीले गरेको फोहोर अरुले सफा गरिदिने होइन । कहिले पनि कसैले सफा गरिदिँदैन । तर तौरतरिका मिलाउनु पर्छ । अहिले पनि आमादिदीबहिनीले पोतेर घर लिप्नु हुन्छ । निहुरिएर झाडु लगाउनु हुन्छ । त्यसरी तरिका होइन । केही सामान्य प्रविधि परिवर्तन गर्नुपर्छ । सफाइको फरक फरक चरण हुन्छ । काठ, शिशा, सिमेन्ट, मार्बल सफा गर्ने तरिका हुन्छ । तरिका जानिएन भने दिनभर पुछे पनि शिशा सफा हुँदैन । तरिका जानियो, भने तुरुन्तै सफा हुन्छ ।

हामीले सुरुमा घर सफा गर्नुपर्यो, सडक र टोल सफा गर्नु पर्यो । कार्यालय र सार्वजनिक स्थल सफा गर्नु पर्यो । सबैतिर सफा गरेपछि देश सफा हुन्छ । तर यसका लागि इच्छाशक्ति चाहिन्छ ।

काठमाडौंका सडक साँघुरा छन्, स्थानीय सरकारले बु्रमर ल्याएर सफा गर्छौं भनिरहेकोछ, केही कुरा नमिले झै लाग्दैन?

 ठिकै हो, साँघुरा सडकहरुमा ब्रुमर चलाउन मिल्दैन । सात महिनापछि ब्रुमर आउँदैछ भनेर अहिले हामी किन हात बाँधेर बसिरहेका छौं? यो कुरा मैले बुझेको छैन ।

तपाईहरुको सानो टिम छ, तपाईहरुले पशुपति सफा गरिरहनु भएको छ, पशुपतिका आफ्नै ४०–५० जनाको सफाइ टिम छ, उसले चाहिँ गर्न नसक्ने देखिन्छ । यस्तो किन हुन्छ?

 हामीले कसैलाई दोष दिन हुँदैन । आजसम्म हामीले कुनै सफाइ मजदुरलाई पनि प्रेरित गर्दै गरेनौं । अहिले पनि सफाइमा काम गर्नेहरुले हिनताबोध गर्छन् । किनभने उनीहरुले गरेको कामले धेरै जस पाएको हुँदैन । तर जब उनीहरुले राम्रो काम गरेको प्रमाणित गरिदिन्छन्, उनीहरुको कामले अरु लाभान्वित हुन थाल्छन्, तब सबैले उनीहरुलाई सम्मानको दृष्टिले हेर्नेछन् । सफाइमा काम गर्नेहरुलाई अरुले सम्मान गरिदिनु पर्छ । मजदुरहरु आफैले पनि आफ्नो काममा गर्व गर्नुपर्छ ।

सफाइमा प्रविधिको उपयोगको कुरा पनि छ, यस्ता प्रविधि कसरी गर्ने? हाम्रो हैसियतले भ्याउला? 

प्रविधि सुरुमा महंगो पर्छ । एक वर्षपछि त्यसले कति रकम जोगायो भन्ने हिसाब गर्दा प्रविधि सस्तो पर्छ । र प्रविधि सस्तो मात्रै होइन, छिटो र कामको गुणस्तर पनि राम्रो हुन्छ । पशुपतिकै उदाहरण दिउँ न, त्यहाँ हामीले प्रेसर होल्स प्रयोग गर्यौं । त्यो प्रविधिको सट्टा हातैले पनि सफा गर्न सकिने थियो । तर त्यसो गर्दा कति समय लाग्थ्यो होला? कति मानिस चाहिने थियो होला? हिसाब गर्ने हो भने प्रेसर होल्स धेरै सस्तो पर्छ ।

तपाईहरुले नेपालमा सफाइ गर्दा आर्थिक हिसाबले कति फाइदा भयो?

 पशुपतिनाथमा हामीले फाइदा हेरेका छैनौं । बागमती सफाई महाअभियानका साथीहरु र हाम्रासहित ३७ जनालाई अहिलेसम्म हाम्रै पकेटबाट पैसा दिइरहेका छौं । केही महिना अगाडि पशुपतिमा गरेको काम देखेर नेपाल इन्भेष्टमेन्ट बैंकसँग हाम्रो समझदारी भयो । बैंकले एक वर्षका लागि १५ जनाको जिम्मा लियो । अब १ वर्षसम्म १५ जनाले पशुपति सफा गर्नेछन् । निःशुल्क रुपमा गुणस्तरीय काम दिन सकिदैन । उत्प्रेरणा जगाउन मात्रै सकिन्छ । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।