काठमाडौं । करिब ३ बर्षअघिको कुरा हो । बिदेश जाँदै थिएँ । अध्यागमनबाट अगाडी बढेर बिमानका लागि कुरेर बस्दै गर्दा शौचालय जानुपर्ने भयो ।

शौचालयको नजिक पुग्दा बिदेशीहरु भित्र छिर्ने र प्रयोग नै नगरी फर्कने गर्दै थिएँ । उनीहरु शौचालय निकै फोहोर र प्रयोग नै गर्न नसकिने भन्दै थिए ।

मलाई लाग्यो, ‘उनीहरुको देशको एयरपोर्टमा शौचालयका ‘कमोड’ र ‘बेसिन’हरु टिलिक्क टल्कने हुनाले फोहोर लागेको होला, मलाई त चलिहाल्छ नि ।’ भित्र छिरें ।

भित्र त शौचालयको भुईंमा करिब २ इन्च जति तरल पदार्थ जमेको रहेछ । तरल पदार्थ पानी थियो वा मानव मूत्र, राम जाने । गन्ध भने पर्पराउने गरी नाकमा ठोक्किरहेकै थियो । तर, भित्र छिर्नुको बिकल्प थिएन । किनभने बिमान भित्र छिर्न अझै पौने घण्टा जति बाँकी थियो ।

छिरेर निस्कदाँ जुत्ताको आधा भाग त्यही तरल पदार्थमा चोपलिएको थियो । ‘लगेज’ बिमानमा पठाइसकेका हुनाले जुत्ता फेर्न पाइएन, जुत्ता त्यहीँ फालेर खाली खुट्टै यात्रा गर्ने कुरा पनि भएन । दिङदिङ लाग्ने जुत्ता भिरेरै मेरो बिदेश यात्रा शुरु भयो ।

ती फोहोर शौचालय छिर्न आनाकानी गरिरहेका बिदेशी पाहुनाहरुले त्यपछि के गरे होलान्? मलाई थाहा भएन । उनीहरुका सामु केही बिकल्प थिएन । सायद बिमानमा नछिरुन्जेल ‘खपेर’ बसे होलान्, अनि बिमानमा चढ्ने बित्तिकै हान्निदैं शौचालय पसे होलान् ।

अझ बिडम्बनाको कुरा के हो भने ती दिनहरुमा नेपालका बिभिन्न सम्बन्धित निकायका पदाधिकारीहरु बार्षिक १० लाख पर्यटक भित्र्याउने योजनाहरु बुन्दै थिए– सभा, सेमिनार र गोष्ठीहरुमा । मन खोलेर शौच नै गर्न नपाइने एयरपोर्ट भएको देशमा पर्यटकहरु कसरी आउलान्? अधिकारीहरुले के सोचेका होलान्? यी प्रश्न गत जुन २९ गते राति ११ बजेसम्म अनुत्तरित भएर त्रिभुवन बिमानस्थलको आकाशमा मडारिरहे ।

तर, त्यो दिन राति ११ बजेपछि एयरपोर्ट सफाइको जिम्मा लिएर अस्ट्रेलियामा सरसफाई ब्यवसाय गरिरहेका खेम शर्मा बिमानस्थलमा उत्रिए, तब ती प्रश्नका उत्तर एकाएक फेला परे । र, उनका सारथी बनेर आएका थिए गैर आवासीय नेपाली संघ (एनआरएनए) का बरिष्ठ उपाध्यक्ष भवन भट्ट ।

अहिले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको रुप फेरिएको छ । शौचालयका ‘कमोड’ र ‘बेसिन’हरु टल्किएका छन् । भुईं सफा देखिन्छ । टेबुल र कुर्सीहरु हार मिलाएर राखिएका छन् । सिसाहरुमा दाग देखिदैंन । भित्ताहरु र कुनाकाप्चामा धुलो जमेको छैन । र, माकुराका जालोहरु भेटिदैंनन् । समग्रमा भन्नुपर्दा सामान्य रुपमै अनुभूत गर्न सकिने गरि परिवर्तन भएको छ, अन्तराष्ट्रिय बिमानस्थल ।

भरतपुर, चितवनका स्थायी बासिन्दा खेम बिगत एक दशकदेखि अष्ट्रेलियामा बसोबास गरिरहेका छन् । सन् २००८ मा उनी बिद्यार्थी भिसामा पहिलोपटक अष्ट्रेलिया पसेका थिए ।

‘मैले पनि शुरुवाती दिनहरुमा सिड्नीमा सरसफाई मजदुर कै रुपमा काम गरेको हुँ, पछि मजदुरबाट ब्यवस्थापक हुँदै अन्ततः आफ्नै ब्यवसाय खोलेको हुँ,’ खेमले क्लिकमाण्डूसँग भने ।

अस्ट्रेलियामा रहेको उनको ‘खेम्स क्लिनिङ’ कम्पनीमा हाल ७० जना हाराहारी कामदार छन्, जसले नियमितरुपमा सिड्नीका ‘पब’, अफिस, रेष्टुरेन्टलगायतको सरसफाइ गर्छन् ।

कसरी शुरु भयो बिमानस्थल सफा गर्ने यात्रा?

 खेमको कम्पनीले नेपालमा गरेको पहिलो काम भने भरतपुर बिमानस्थलको सरसफाइ हो ।

‘अष्ट्रेलियामा ब्यवसाय गरेर आफू र आफ्नो परिवारको जिवनयापन सहज बनाएपछि देशको लागि केही काम गर्नुपर्छ भन्ने सोचिरहेको थिएँ, यही शिलशिलामा भरतपुर बिमानस्थल सफा गर्ने जिम्मेवारी लिएँ । आफ्नो गृहजिल्ला पनि भएका कारण मलाई थप जिम्मेवारी बोध पनि भयो,’ खेम भन्छन् ।

भरतपुर बिमानस्थल सफा गरिरहेका उनले आफ्नो कामबाट सरोकारवालाहरुको ध्यान खिच्न सफल भए ।

दैशकै एकमात्र अन्तराष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सफा गर्ने आकांक्षा पलाउनुमा भने उनको ब्यक्तिगत अनुभव पनि जोडिएको रहेछ ।

‘अष्ट्रेलियाबाट नेपाल फर्किने क्रममा बिमानस्थलमा झरेपछि मेरी श्रीमतीले लगाइरहेको लुगा फेरेर कुर्तासुरुवाल लगाउन चाहिन् । तर, चेन्जिङ रुम पनि नभएको र शौचालय पनि एकदमै फोहर भएका कारण उनले लुगा फेर्न पाइनन्’, खेम सम्झन्छन्, ‘त्यो घटना नभएको भए पनि म काम त गर्थें, तर, केही महिना ढिलो भने हुन सक्थ्यो होला ।

एयरपोर्ट सफा गर्ने चाहना र चेत उनमा पलाए पनि त्यसलाई मूर्तरुप दिन एउटा दरिलो सहयात्रीको आवश्यकता थियो । आफू पनि गैरआवाशीय नेपाली भएकोले गैरआवाशीय नेपालीहरुको संस्था गैरआवाशीय नेपाली संघका बरिष्ठ उपाध्यक्ष भवन भट्ट उनको पहिलो रोजाइमा परे ।

त्यसपछि उनले एनआरएनएका उपाध्यक्ष भट्टलाई फोन सम्पर्क गरे । ‘म पनि एनआरएन, उहाँ एनआरएनएको उपाध्यक्ष । मैले उहाँलाई आफ्नो अभिभावक मानेर सम्पर्क गरेको हुँ,’ उनी भन्छन् ।

उनले फोन गर्दा भट्ट जापानमा गाडी चलाउँदै रहेछन् ।

‘उहाँले गाडी साइड लगाएरै मसँग कुरा गर्नुभयो । भरतपूर विमानस्थल सफाइ बारेको एउटा भिडियो युटुबमा थियो, उहाँले गाडी साइड लगाएर त्यो भिडियो हेर्नुभएछ,’ खेमले प्रष्ट पारे ।

भट्टले सहयोग गर्ने बचन र प्रतिबद्धता जनाएपछि उनले एयरर्पोट सरसफाइको आफ्नो प्रस्ताव ७२ घण्टामै तयार पारे । भट्टले त्यसलाई एनआरएनएको फराकिलो मञ्चको प्रयोगद्धारा नेपालका सम्बन्धित अधिकारीहरुकोमा पुर्याए । र, तत्कालिन पर्यटन मन्त्री, पर्यटन सचिव, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थालका महाप्रबन्धकलगायतको सहयोगमा उनले नेपालको एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थलको सरसफाइको जिम्मेवारी लिए ।

एनआरएनएका बरिष्ठ उपाध्यक्ष भट्टको संयोजकत्वमा पर्यटन प्रबद्र्धन समिति छ । त्यो समितिले अतिथि देबो भबः कार्यक्रम संचालन गरिरहेको छ । सो कार्यक्रम अनुसार प्रत्येक गैरआवाशीय नेपालीले एक बर्षमा कम्तिमा ३ जना आफ्ना विदेशी साथीलाई नेपाल घुम्न पठाउनु पर्नेछ ।

उपाध्यक्ष भट्टले अथिति देबो भबः कार्यक्रमबाट आर्थिक सहयोग गर्ने ब्यवस्था मिलाइ दिए । नेपाल पर्यटन बोर्डले पनि केही आर्थिक सहयोग गर्ने ब्यवस्था मिलाइयो । यही आर्थिक स्रोतबाट खेम शर्माको कम्पनीले बिमानस्थल सफाइको काम गरिरहेको छ ।

कसरी संभव भयो महसुस गर्ने गरी एयरपोर्टको सफाइ?

खेमले के त्यस्तो जादु चलाए, जसले मानिसहरुले एकाएक अनुभुति गर्ने गरी एयरपोेर्ट सफा भयो? के उनले जिम्मेवारी लिनुभन्दा अघि त्रिभुवन बिमानस्थलमा सरसफाई सम्बन्धि कुनै काम नै हुँदैनथ्यो त?

यहाँनिर पत्रकार विजयकुमारका शब्दहरु याद आउँछन् । उनले कतै भनेका वा लेखेका छन्, ‘संसारमा ठूलो कुरा भन्ने नै हुँदैन । स–साना कुराको योग हो ठूला कुरा हो ।’

खेम आफैं पनि एयरपोर्ट सफा हुनुको ठूलो जस लिन चाहदैंनन् । हामीले दिनु पनि हुँदैन । नेतृत्वको अक्षमताले सँधै पिल्सिएका कारणले होला, हामी सँधैं ‘गान्डिभ’ धारी ‘अर्जुन’ वा ‘विजयधनुष’ धारी ‘कर्ण’ आएर हामीलाई मुक्ति देओस् भन्ने नै सोच्छौं । नेतृत्वले गर्ने स–साना सुधार हाम्रो प्रतिबद्धतामै पर्दैन ।

नेतृत्वले गर्ने लक्ष्यदार भाषण र त्यस्ता भाषण गर्नेले बटुल्ने जनमतले हाम्रो नेतृत्वप्रतिको दृष्टिकोण र उनीहरुप्रतिको आकांक्षा उजागर गर्छ । ‘बाराक ओबामा, नरेन्द्र मोदी वा यस्तै कुनै नेता हाम्रो देशमा हुनुपर्छ । र, उनीहरुले देशलाई एकाएक बिकासको डौडमा लैजान्छन्’, भन्ने आकांक्षा नेपालमा कुनै नौलो होइन ।

तर, काम त स–साना कुरा सुधारेरै हुने हो । एयरपोर्ट सफाइ त्यसैको पछिल्लो उदाहरण हो । ‘त्यहाँका कर्मचारीहरु पहिले पनि त्यतिकै मेहेनतका साथ काम गरिरहेका थिए, मैले त सामान्य ब्यवस्थापन मात्रै गरेको हुँ,’ खेम भन्छन् ।

वास्तवमा खेमले सरसफाइको जिम्मेवारी लिनुभन्दा पहिले जति कर्मचारी थिए, अहिले पनि त्यति नै छन् । कर्मचारी संख्यामा खासै परिवर्तन भएको छैन ।

‘हामीसँग २५/३० जना कर्मचारी छन्’, उनी भन्छन् ।

खेमले गरेको पहिलो काम भनेको सरसफाइ गर्ने कर्मचारीको मनमा आफ्नो कामप्रति सम्मान जगाउनु रहेछ । काम सानो र ठूलो हुँदैंन भनेर हामीले सँधैं सुनिआएकै कुरा हो । तर, आत्मसात भने सँधैं गर्दैनौं ।

जब खेम आफैं घुँडा धसेर त्यहाँका सिसा र भुँइ टल्काउन थाले तब अन्य कर्मचारीहरुमा पनि आफ्नो कामप्रतिको सम्मान जागृत हुनु स्वभाविकै हो ।

महसुस हुने गरी सरसफाइ हुनुमा केही प्राबिधिक पक्षहरु पनि रहेछन् । सफाइ गर्नका लागि नेपालमा प्रयोग भइरहेका परम्परागत उपकरणहरु भन्दा फरक उपकरण र ‘केमिकल’हरुको प्रयोग गरिएको रहेछ ।

‘सफाइ त पहिले पनि भैरहेको थियो । तर, अन्तर्राष्ट्रियस्तरको थिएन । फरक केमिकलहरु र उपकरणको प्रयोगले राम्रो नतिजा ल्याउन सघाएको मात्रै हो,’ खेम भन्छन् ।

अर्को महत्वपूर्ण प्रबिधिक पक्ष भनेको राति गरिने सरसफाई (आफ्टर आवर क्लिनिङ) पनि रहेछ । एयरपोर्टमा पहिले सरसफाई गर्ने कर्मचारीहरु बिहान ६ बजेदेखि राति ११ बजेसम्म खटिने रहेछन् । त्यो समयमा यात्रुहरुको चापका कारण राम्रोसँग सफाइ गर्न कठिनाइ हुनु स्वभाबिकै थियो । अहिले सफाइको समय राति ११ बजेदेखि बिहान ५ बजेसम्म हुन्छ ।

‘आफ्टर आवर क्लिनिङ’मा कुनै अवरोध नआउने हुनाले मस्तसँग काम गर्न पाइने र नतिजा आउने खेमको अनुभव छ । ‘दिनमा गर्ने सफाइ भनेको त फोहर टिपन टापन गर्ने मात्र हो,’ उनी भन्छन् ।

सरसफाइको आर्थिक आयाम

सरसफाइ भनेको वातावरण र मानव स्वास्थ्यको बिषय मात्र नभएर आर्थिक संभावना भएको क्षेत्र पनि हो । उदाहरणको लागि अष्ट्रेलियामा सरसफाइको क्षेत्र भनेको तेस्रो वा चौथो ठूलो आर्थिक क्षेत्र हो, जहाँ हजारौं रोजगारी सृजना भएका छन् । हरेक कार्यालय, रेष्टुरेन्ट, संघ संस्थालयायतको बजेटको महत्वपूर्ण हिस्सा सरसफाइले ओगटेको हुन्छ ।

उच्च बेरोजगारीे दर रहेको र रोजगारीका लागि दैनिक हजारौं नागरिक बिदेश जाने समस्या रहेको नेपालमा सरसफाइको क्षेत्रले धेरै रोजगारी सृजना गर्न सक्छ । तर, यसका लागि राष्ट्रिय सरसफाइ मापडण्ड बन्नु जरुरी रहेको खेमको बुझाइ छ ।

‘हरेक जिल्लामा सरसफाइ अधिकृतहरु खटाइनुपर्छ, जसले सबै सार्वजनिक संस्थाहरुको सरसफाइको अनुगमन गर्छन् र सरोकारवालाहरुलाई सरसफाइमा बिशेष ध्यान दिन बाध्य तुल्याउछन्’, उनी भन्छन् ।

एनआरएनएको औचित्य पुष्टी

एनआरएनएको बारेमा नेपालमा केही भनाइहरु चर्चित छन्ः बिदेशमा दाम कमाएर नेपालमा नाम कमाउन आएकाहरु, कुरा धेरै र काम थोरै गर्ने जमातहरु आदि ।

तर, नेपाल पस्ने एकमात्र बिमानस्थललाई अन्तर्राष्ट्रियस्तरको सरसफाइ गरेर एनआरएनएले आफूलाई कुरा मात्र नभएर काम पनि गर्ने संस्थाको रुपमा दह्रोसँग उभ्याएको छ । साथै, नेपालका अधिकारीहरुलाई पनि अवसर र सहयोग पाए बिदेशमा सिकेको सीप नेपालमा प्रयोग गर्न सकिने सन्देश पनि दिएको छ