
हाम्रा सिद्दान्त
स्वर्णिम युग फाउन्डेसनका पाँच सिद्दान्त छन् . ती पाच सिद्दान्त सम्पर्क (connect), उत्प्रेरणा (motivate), सहभागिता (participate), लगानी (invest) र प्रोत्साहन (inspiration) हुन् । फाउन्डेसनले यी पाँच सिद्दान्तमा रहेर काम गर्ने छ । यी सिद्दान्तमा आधारित रहेर स्वर्णिम उपहार अभियान मार्फत सामाजिक कार्य गर्न चाहने व्यक्ति वा संस्थासँग फाउन्डेसनले सहकार्य गर्ने पनि छ ।
समाजमा अझै पनि अभाव, बेरोजगारी र साधन श्रोतको समुचित वितरण छैन । यी सिद्दान्तका आधारमा अभियानमा सामेल हुँदा समाजमा भएको खाडल पुर्न सम्भव छ । हामी यी सिद्दान्तका आधारमा शिक्षा, कलाकारिता, खेलकुद, गाँस/बास/कपास, स्वास्थ्य, विपद सहयोग जस्ता अभियान मार्फत स्वर्णिम उपहार लिएर आउने छौँ ।
हामी दान होइन उपहारमा विश्वास गर्छौ । स्वर्णिम भविष्य निर्माण गर्न स्वर्णिम उपहार अभियानमा सामेल हुन सबैलाई अनुरोध गर्दछौँ ।
स्वर्णिम शैक्षिक सामग्री उपहार अभियान
नेपालमा राजनीतिक परिवर्तनहरु संस्थागत भएता पनि सामाजिक क्षेत्रमा नागरिकस्तरबाट गर्नु पर्ने धेरै काम बाँकी छन् । त्यसमध्ये एउटा काम हो, शिक्षा क्षेत्रमा नागरिकस्तरको सहयोग र सहभागिता । राष्ट्रले एक स्तरसम्मको शिक्षा निःशुल्क गर्ने संवैधानिक र कानूनी व्यवस्था गरेता पनि व्यवहारिक रुपमा त्यो प्राप्त गर्न अझै केही दशक लाग्न सक्छ । फरक भौगोलिक परिस्थिति र समाज विकासको फरक चरणले गर्दा अझै पनि आर्थिक रुपमा विपन्न समुदायका नागरिकलाई शिक्षामा समान र व्यवस्थित पहुँच पुर्याउन कठिन छ । तर सबैको फरक र अभियानात्मक पहल हुँदा ती विपन्न मानिसलाई शिक्षाको ज्योतिबाट बञ्चित हुन नपर्ने स्थिति निर्माण गर्न सकिन्छ ।
यही मूल मन्त्रलाई मध्यनजर गर्दै ‘विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री उपहार’ अभियान सुरु गरिएको छ । देशले आफूलाई के दियो वा देशमा के कुरा बनेन भन्ने गुनासा र आलोचनामा समय खर्च गर्नुभन्दा पनि आफैले देशलाई के योगदान गर्न सकिन्छ भन्ने व्यवहारिक प्रश्नको जवाफ आफैँ खोज्दै यो अभियान सुरु गरिएको हो । खासगरी प्रवासमा रहेर नेपालमा सामाजिक तथा आर्थिक रुपान्तरणमा योगदान गर्न चाहने नेपालीलाई समेत सहभागी गराएर यो अभियान सुरु गरिएको छ ।
यसअघि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ गरेर आफ्नो नागरिक दायित्व पूरा गर्नुभएका लेखक खेम शर्माको नेतृत्वमा सुरु गरिएको यो अभियानको सुरुवात उनको २०२१ जुनमा प्रकाशित पुस्तक ‘स्वर्णिम रहस्य’को बिक्रीबाट प्राप्त रकमले शैक्षिक सामाग्री खरिद गरेर आवश्यकता भएका विपन्न समुदायका विद्यार्थीलाई पुर्याउने कामको सुरुवात भइसकेको छ ।
यस अभियानमा नागरिकस्तरबाट प्रवास तथा स्वदेशमा सहभागी हुने व्यक्तित्व तथा संस्थाहरुको समेत प्रोत्साहन बाट अभियानले व्यवस्थित स्वरुप ग्रहण गरेको छ । नेपालभित्रै र विदेशको जुन सुकै कुनामा भएको व्यक्तिले नेपालमा विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री पुर्याउन सक्ने गरी निर्माण गरिएको यो अभियानमा सहभागी सबैलाई हार्दिक धन्यवाद दिँदै अभियानको व्यवहारिक पक्ष यस प्रकार निर्माण भएको जानकारी गराइन्छ ।
अभियानको लक्ष्य : पहिलो चरणमा विपन्न समुदायका १० हजार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने ।
अभियानको उद्देश्य : विपन्न समुदायका बालबालिकालाई लेखपढका लागि सहायता गर्ने ।
लक्षित वर्ग / क्षेत्र : विपन्न समुदायका बालबालिका, अभिभावक र विद्यालय ।
अभियान क्षेत्र : नेपालका सामुदायिक विद्यालय र बालगृह ।
आशातित उपलब्धिहरु:
– नेपालका विपन्न समुदायका विद्यार्थीमा पढ्ने वातावरण सिर्जना हुनेछ ।
– विपन्न समुदायका विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार हुनेछ ।
– अभिभावकलाई थोरै भएपनि आर्थिक भारमा साझेदारी हुनेछ ।
– आमनागरिकमा सामाजिक उत्तरदायित्व बोध हुनेछ ।
– सबै बालबालिकाको पढ्न पाउने अधिकार सुनिश्चित गर्न सम्वद्धमा सचेतना र दबाब सिर्जना हुनेछ ।
कार्य प्रणाली:
यस अभियानको कार्य प्रणाली निम्न अनुसारको हुनेछ:
– शैक्षिक सामग्री आवश्यक परेको विद्यालयको प्रतिनिधिले हाम्रो वेबसाइटमार्फत विवरण भर्नु हुनेछ । जसमा प्रधानाध्यापक र विद्यालयको विवरणसहित शैक्षिक सामग्री चाहिने विद्यार्थीको संख्यासमेत उल्लेख गर्नु हुनेछ ।
– प्राप्त विवरण अध्ययनका आधारमा सहयोग गर्न सक्ने अवस्था भए विद्यालयको आवश्यकतालाई आधिकारिक रुपमा वेबसाइटमा राख्नेछौं । त्यसका लागि हामीले विद्यालयको थप जानकारी माग गरिनेछ ।
-
- सहयोग आवश्यक पर्ने विद्यार्थीको नाम र अध्ययनरत कक्षा
- साक्षीको रुपमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको नाम, सम्पर्क नम्बर र हस्ताक्षर, विद्यालय बाहिरका २ जना सामाजिकरुपमा सक्रिय व्यक्तिको नाम, सम्पर्क नम्बर र हस्ताक्षर
– सहयोग आवश्यक भएका विद्यालयका लागि तपाईंलगायत सहयोगी दाताहरुबाट प्राप्त सामग्री निश्चित दिनमा भौतिक रुपमै हस्तान्तरण गरिनेछ ।
-साझेदार संस्था शिक्षा पत्रकार समूहका कुनै सदस्यको समेत उपस्थितिमा कार्यक्रम आयोजना गरी विद्यालयका प्राधानाध्यापक, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिको रोहबरमा विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिनेछ ।
-शैक्षिक सामग्री हस्तान्तरण गरिसकेपछि प्रतिवेदन तयारी गरी तपाईं लगायत सहयोगी दातालाई पेस गरिनेछ । जसमा कार्यक्रमको तस्वीर, भिडियो र भएमा प्रकाशित समाचार समेत संलग्न गरिनेछ ।
स्वर्णिम कला उपहार
नेपाली भाषा, साहित्य, संस्कृतिका लेखक, कलाकारबाट हाम्रो समाजले अनुपम उपहार प्राप्त गरेको छ । उक्त कलाको सम्मानमा ती कलाकारलाइ सामाजिक संजालमा प्रत्यक्ष भेट्ने र उक्त भेटको समयको सम्मान गर्दै आफूले सकेको स्वर्णिम उपहार प्रदान गर्ने अभियान “स्वर्णिम कला उपहार” अभियान हो ।
यो अभियान अन्तर्गत व्यक्ति वा संस्थाले नेपाली लेखक, कलाकार वा संस्थाका लागि भौतिक रुपमा वा फेसबुक, जूम, क्लब हाउस, जस्ता सामाजिक रूम संचालन गर्दै प्रत्यक्ष भेट गर्ने र भेटघाटमा विचार र कला आदान प्रदान गर्ने उद्यस्य रहने छ ।
लेखक कलाकारले आफ्नो श्रीजना उपहार दिए जस्तै सम्मान स्वरुप प्रदान गर्न चाहेको उपहार सम्बन्धित लेखक कलाकारलाइ पुर्याउने काम यो अभियान अन्तर्गत पर्दछ । यो अभियान अन्तर्गत पुस्तक, म्युजिक भिडियो, फिल्म, हस्तकला र चित्रहरुको भौतिक उपहार आदान प्रदानमा पनि समन्वय गरिने छ ।
लेखक कलाकारले उक्त उपहार आवश्यकताअनुसार आफ्नै लागि वा आवश्यक क्षेत्रका लागि प्रदान गर्न चाहेको अवस्थामा उक्त कुराको पनि समुचित समन्वय गरिने छ ।